Skip to content

Biography of ronaldo in nepali news

Indira aradinovic grudi velike

क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो (पोर्तगाली: Cristiano Ronaldo) (पुर्तुगाली उच्चारण - क्रिस्तिआनो रोनाल्दो दस सान्तोस), (जन्म: ५ फेब्रुअरी १९८५, चर्चित नाम: क्रिस्टियानो रोनाल्डो) पुर्तुगालको राष्ट्रिय फुटबल टोली तथा साउदी क्लब अल नासरका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन्। उनी पुर्तुगाल राष्ट्रिय फुटबल टोलीका कप्तान पनि हुन्। उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी' ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए। उनले चार पटक बेलन डि'ओर जितिसकेका छन्। उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ। उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन्। सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ८९५ गोल गरिसकेका छन्।

उनीलाई विश्व फुटबलका सबैभन्दा महान खेलाडीहरू मध्येका एक मानिन्छ। उनलाई सन् २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। रोनाल्डोले पुर्तुगाल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरु खेल्दै देशलाई पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधीको रूपमा युइएफए युरो २०१६ जिताएका थिए। उनी पुर्तुगालको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी पनि हुन्। उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमश: सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए।

स्पोर्तिङ सेपेबाट क्लब खेल जीवन आरम्भ गरेका रोनाल्डोले आफ्नो उत्पादनशिल समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा दिएर लिग, च्याम्पियन्स लिग लगायत विभिन्न पुरस्कारहरू जितेका छन् भने धेरै किर्तिमानहरू पनि बनाएका छन्। त्यस्तै पुर्तुगालको राष्ट्रिय टोलीबाट युरोकप जितेका रोनाल्डोको नाममा पुर्तुगाल, युरोप, र विश्व फुटबलमा विभिन्न किर्तिमानहरू छन्।

प्रारम्भिक जीवन

रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ को दिन माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा भएको थियो । क्रिस्टियानो रोनाल्डोका एक भाइ ह्युगो र दुई दिदी एल्मा र लिलाना कातिया छन् । क्रिस्टियानो रोनाल्डोको नामको दोश्रो भाग रोनाल्डो पोर्चुगलमा अपेक्षाकृत दुर्लभ छ । उनको मातापिताले उनको यो नाम त्यतिबेलाका अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नाममा राखेका थिए किनकी रोनाल्ड रेगन उनका बुवाका मनपर्ने अभिनेता थिए ।

रोनाल्डो स्कुलमा रहँदा अन्य विद्यार्थी सरह पढाईमा अब्ब‌ल थिए तर उनी आफ्ना शिक्षकलाई कुर्सीले हिर्काएर स्कुलबाट निष्कासित भएका थिए । व्यवसायिक खेलाडीका रूपमा स्थापित भइसकेपछी उक्त घटनाको बारेमा बोल्दै उनले भनेका थिए, उहाँले मलाई अनादर गर्नुभयो । १४ वर्षको उमेरमा उनले आफ्नी आमाको कुरा मानेर सम्पूर्ण ध्यान फुटबलमा केन्द्रित गर्ने वचन दिए ।

क्लब खेल जीवन

स्पोर्तिङ सेपे

रोनाल्डो १६ वर्षको हुँदा उनको ड्रिबलिङ (विपक्षीलाई छक्याएर बल अगाडि बढाउने) क्षमताबाट प्रभावित भएर स्पोर्टिङ सिपीका प्रशिक्षकले उनलाई युवा टोलीबाट मुख्य टोलीमा बढुवा गरेका थिए। [२] उनी एकै सिजनमा क्लबको १६ वर्ष मुनिको उमेर समूह, १७ वर्ष मुनिको उमेर समूह, १८ वर्ष मुनिको उमेर समूह, बी टिम र मुख्य टोलीबाट खेल्ने पहिलो खेलाडी बने।[३] सन २००२ अक्टोबर ७ मा उनले पोर्चुगलको प्रिमियर लिगाको पहिलो खेलमा दुई गोल गरे जुन खेलमा उनको टिम ३-० ले विजयी भयो।[४] स्पोर्टिङ र म्यानचेस्टर युनाइटेडबिच सन् २००३ अगस्टमा लिस्बनमा भएको खेलमा युनाइटेड ३-१ ले पराजित हुँदा युनाइटेडका खेलाडीहरू र प्रशिक्षक सर एलेक्स फर्गुसन रोनाल्डोको खेल कौशलबाट अत्याधिक प्रभावित भए। यही खेलले रोनाल्डोलाई युनाइटेडमा स्थानान्तरण गराउन मुख्य भूमिका खेल्यो।[५] फर्गुसनले त्यतिबेला रोनाल्डोलाई आफूले जीवनमा भेटेका सर्वोत्कृष्ट युवा खेलाडीमध्ये एक भनेका थिए।[६][७] रोनाल्डो स्पोर्टिङबाट बाहिरिएको एक दशक पछि सन् २०१३ अप्रिलमा क्लबले उनलाई क्लबको १००,०००औँ सदस्य बनाएर सम्मान गरेको छ।[८]

म्यानचेस्टर युनाइटेड

२००३-२००६: विकास र परिपक्वता

सन २००३-०४ को सिजन अगाडि म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका रोनाल्डो क्लबमा खेल्ने पोर्चुगलको पहिलो खेलाडी बने।[९] £१२.२४ मिलियनमा भित्र्याइएका उनी उक्त समयमा बेलायतको फुटबल इतिहासमा सर्वाधिक महङ्गा किशोर खेलाडी भएका थिए।[१०] उनले २८ नम्बरको जर्सीको माग गरेका थिए किनकी उनले यो नम्बर स्पोर्टिङमा लाउने गरेका थिए तर उनले ७ नम्बरको जर्सी पाए जुन नम्बर क्लबका प्रभावशाली खेलाडीहरू जस्तै जर्ज बेस्ट, इरिक क्यान्टोना, डेभिड बेक्ह्याम आदिले लाउने गर्थे।[११] यसले उनलाई थप उत्साहित बनायो,[१२] र उनले ३ वर्षभित्र विश्वको सर्वश्रेष्ठ खेलाडी मध्ये एक बन्ने लक्ष्य राखे।[१३] रोनाल्डोको खेल जीवनलाई उचाईमा पुर्‍याउन म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसनको महत्त्वपुर्ण भूमिका रह्यो। रोनाल्डोले भनेका छन, फुटबल खेलमा फर्गुसन मेरा पिता हुन, मेरो जीवनको एक अति नै महत्त्वपुर्ण र प्रभावशाली व्यक्ति हुन्। [१४]

विगतमा विभिन्न खेलाडीहरूलाई 'नयाँ जर्ज बेस्ट' भनेर भनियो, तर त्यसो भनेर मेरो प्रशंसा गरेको जस्तो मलाई पहिलो पटक लाग्दैछ।[१५] १८ वर्षे रोनाल्डोको बारेमा पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी जर्ज बेस्ट ।

सन २००३ अगस्त १६ मा रोनाल्डोले युनाइटेडको लागि पहिलो खेल खेले। बोल्टोन वान्डरर्स विरुद्ध युनाइटेड ४-० ले विजयी भएको प्रिमियर लिगको खेलको ६०औँ मिनेटमा रोनाल्डो मैदान प्रवेश गर्दा सबै दर्शकले उभिएर स्वागत गरेका थिए।[१६][१७] उक्त खेलमा रोनाल्डोको प्रदर्शनलाई पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी जर्ज बेस्टले सबैभन्दा आकर्षक पहिलो खेल भनेका थिए । युनाइटेडको लागि रोनाल्डोले पहिलो गोल सोही नोभेम्बर १ मा फ्री किक मार्फत गरे, उक्त खेलमा पोर्टस्माउथ ३-० ले पराजित भयो।[१८] उक्त सिजन लिगमा रोनाल्डोले थप तीन गोल गरे।[१९][२०] उक्त सिजन लिगको अन्तिम दिन एस्टन भिल्लाविरुद्ध उनले एक गोल गर्नुका साथै पहिलो पटक रातो कार्ड पनि पाए।[२१] एफए कपमा मिलवाल एफसी विरुद्ध ३-० को जितमा पहिलो गोल गरेका रोनाल्डोले युनाइटेडमा पहिलो उपाधि जित्दै आफ्नो पहिलो सिजन बिताए।[२२]

सन् २००४-०५ को सिजनमा उत्कृष्ट खेल पस्किदै उनले आफ्नो विकासक्रम जारी राखे। विङ्गबाट खेलेर अत्याधिक गोल नगरे पनि उनले सन् २००५-०६ को सिजनमा तीन खेलमा दुई/दुई गोल गरे।[२३] सन् २००५ अक्टोबर २९ मा उनले प्रिमियर लिगमा युनाइटेडको १०००औँ गोल गरे तर उक्त खेलमा युनाइटेड पराजित भयो।[२४] सोही सिजनको मध्यतिर उनले क्लबसँगको अनुबन्ध दुई वर्ष थपेर सन् २०१० सम्म पुर्‍याए।[२५] सन् २००५-०६ को लिग कप फाइनलमा गोल गर्दै उनले युनाइटेडको लागि दोस्रो उपाधि जिते।[२६]

सन २००६ को विश्वकप फुटबलमा रोनाल्डोको कारणले क्लबका अर्का खेलाडी वाइने रोनीलाई रातो कार्ड दिइएको आरोप लागेपछि,[२७] युनाइटेडले आफूलाई बचाऊ नगरेको भन्दै उनले अर्को क्लबमा स्थानान्तरण गरिदिन माग गरे।[२८][२९] तर उनको क्लबले यसलाई अस्वीकार गर्यो।[३०][३१] सोही घटनाको कारणले युनाइटेड र रोनीका समर्थकहरूले रोनाल्डोलाई सन् २००६-०७ सिजनभर गिज्याए पनि यो सिजनले उनलाई एक उत्कृष्ट खेलाडीको रूपमा उदय गरायो।[३२] उनले सो सिजनमा २०-गोलको सीमा पार गरे भने पहिलो पटक प्रिमियर लिगको उपाधि जित्न सफल भए। नोभेम्बरमा उनलाई खेलमा प्रतिस्थापन गरिदाँ विपक्षी ब्ल्याकबर्न रोवर्स एफसीका समर्थकहरूले उभिएर सम्मान गरेका थिए।[३३] डिसेम्वरमा उनले लगातार तीन खेलमा दुई/दुई गोल गरेका थिए। [३४] नोभेम्बर र डिसेम्बरमा उनी प्रिमियर लिगको उत्कृष्ट खेलाडी हुदैँ उनी यसरी लगातार दुई महिनाभित्र उत्कृष्ट हुने प्रिमियर लिग इतिहासकै तेस्रो खेलाडी भएका थिए।[३५][३६]

२००७-२००९: सफलता नै सफलता

सन् २००६-०७ को सिजनमा युइएफए च्याम्पियन्स लिगको उत्कृष्ट आठको खेलमा रोमा क्लब विरुद्ध युनाइटेडले ७-१ को जित निकाल्दा रोनाल्डोले दुई गोल गर्दै च्याम्पियन्स लिगमा गोलको खाता खोले। [३७][३८] सन् २००७ मे ५ को म्यानचेस्टर डर्बीमा एक गोल गर्दै उनले युनाइटेडको लागि गोल सङ्ख्या ५० पुर्‍याए। सोही सिजन युनाइटेडले चार वर्ष पछि फेरि लिगको उपाधि जित्यो।[३९] उत्कृष्ट प्रदर्शनको कारणले रोनाल्डोले पिएफए, व्यवसायिक फुटबल खेलाडी सङ्गठन) वर्ष खेलाडी, पिएफए फ्यान वर्ष खेलाडी, पिएफए युवा वर्ष खेलाडी तथा एफडब्लुए, फुटबल पत्रकार सङ्गठन) वर्ष खेलाडीको उपाधि जिते ।[४०][४१] यी चार उपाधि एकैसाथ जित्ने उनी पहिलो खेलाडी बने।[४२] क्लबले उनको तलब बढाएर £१२०,००० प्रतिहप्ता पुर्‍यायो भने उनले पाँच वर्षको लागि अनुबन्ध बढाउन सहमति जनाए।[४३]

सन् २००७-०८ को सिजनमा उनले ४२ गोल गरे, यो उनले म्यानचेस्टर युनाइटेडका लागि एक सिजनमा गरेको सबैभन्दा धेरै गोल हो। [४४] बेलोन डी' ओर २००७ मा उप-विजेता घोषित भए, जसमा काका विजेता भएका थिए। [४५] साथै फिफा वर्ष खेलाडीमा काका र मेस्सी पछि तेस्रो भएका थिए। [४६] सन् २००८ जनवरी १२ मा उनले युनाइटेडको लागि पहिलो ह्याट्रिक गरे, उक्त खेलमा न्युक्यासल युनाइटेडलाई ६-० गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लियो। [४७] मार्च १९ मा उनले पहिलो पटक म्यानचेस्टर युनाइटेडको कप्तानी गर्दै बोल्टोन विरुद्ध दुई गोल गरे।[४८] बोल्टोन विरुद्धको दोस्रो गोल उक्त सिजनमा रोनाल्डोको ३३औँ गोल थियो, यससँगै मध्यपङ्तिमा खेल्ने रोनाल्डोले सन् १९६७-६८ को सिजनमा जर्ज बेस्टले राखेको ३२ गोलको क्लब किर्तिमान तोडेका थिए।[४९] मे ११ मा विगान विरुद्ध पेनाल्टीबाट निर्णायक गोल गर्दै उनले युनाइटेडलाई अर्को प्रिमियर लिग उपाधि जिताए। [५०] लिगमा ३१ गोल गरेका कारण उनले प्रिमियर लिग गोल्डेन बुट जिते भने युरोपेली गोल्डेन शू जित्ने पहिलो विङ्गर बने। [५१][५२]

सन २००७-०८ को सिजनमा युनाइटेडले युइएफए च्याम्पियन्स लिगको उपाधि जित्दा रोनाल्डोको भूमिका महत्त्वपुर्ण रहेको थियो।[५३] च्याम्पियन्स लिगको उक्त संस्करणमा सर्वाधिक गोल गरेका रोनाल्डोले युइएफए वर्ष खेलाडी भएका थिए।[५४] उनले लगातार दोस्रो वर्ष पिएफए वर्ष खेलाडी तथा एफडब्लुए वर्ष खेलाडीको उपाधि पनि जितेका थिए।[५५]

सन २००८-०९ को संस्करण युनाइटेडमा उनको अन्तिम संस्करण थियो। उनले २००८ नोभेम्बर १५ मा स्टोक सिटी विरुद्ध गोल गर्दै युनाइटेडका लागि आफ्नो गोल सङ्ख्या १०० पुर्‍याएका थिए।[५६] यस सँगै उनले एकै संस्करणमा प्रिमियर लिगका सबै १९ विपक्षी विरुद्ध गोल गर्न सफल भएका थिए।[५७] २००८ मा युनाइटेडले क्लब विश्वकप जित्दा रोनाल्डोको योगदान महत्त्वपुर्ण रह्यो।[५८] प्रतियोगितामा उनले सिल्भर बल जिते।[५९][६०] उनले सन २००८ को बेलोन डी' ओर जितेर जर्ज बेष्ट (१९६८) पछि सो पुरस्कार जित्ने पहिलो युनाइटेड पहिलो खेलाडी बने। [६१][६२] सोही वर्ष उनी फिफा वर्ष खेलाडी घोषित भए, प्रिमियर लिग खेलाडीले यो पुरस्कार पाएको यो पहिलो अवसर थियो।[६३] २००८-०९ को सिजन उनको प्रेरणामा युनाइटेड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुग्यो तर बार्सिलोनासँग पराजित भएर उप-विजेता बन्यो। [६४] पोर्तो क्लब विरुद्धको दोस्रो खेलमा उनले ४० यार्डबाट गरेको गोलले वर्षको सर्वोत्कृष्ट गोलको रूपमा फिफा पुस्कास अवार्ड जित्यो। [६५] युनाइटेडले लिग कप र लगातार तेस्रो प्रिमियर लिग उपाधि जित्दा रोनाल्डोले सो क्लबबाट नौ उपाधिहरू जिते।[६६][६७] म्यानचेस्टर युनाइटेडका लागि रोनाल्डोले अन्तिम गोल २००९ मे १० मा म्यानचेस्टर डर्बीमा फ्री किकमार्फत गरे।[६८]

रियल म्याड्रिड

२००९-२०१२: किर्तिमानी स्थानान्तरण र ला लिगा उपाधि

" म भित्र रोनाल्डोको प्रशंसा बाहेक केहि छैन। उ संसारकै सर्वोत्कृष्ट खेलाडी हो भन्न कुनै गाह्रो छैन। विपक्षीलाई उसले गोल गर्ने त्राश अकल्पनीय हुन्छ। उसको तथ्याङ्क अविश्वसनिय छन: गोल, गोलको प्रयास, पेनाल्टी बक्समा उपस्थिति, हेडर। उ सँग सबै कौशल छन्। अति नै प्रभावशाली।"

— रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिडमा गएपछि युनाइटेडका प्रशिक्षक एलेक्स फर्गुसन [६९]

सन २००९ मा £८० मिलियन को किर्तिमानी स्थानान्तरण रकम तिरेर रियल म्याड्रिडले रोनाल्डोलाई क्लबमा भित्र्याएको थियो। [७०] उनलाई क्लबको रङ्गशालामा स्वागत गर्न करीब ८०,००० समर्थक भेला भएका थिए, यसले २५ वर्ष अगाडिको मारादोनालाई नेपोली क्लबमा करीब ७५,००० ले स्वागत गरेर राखेको किर्तिमानी तोड्न सफल भएको थियो।[७१] उक्त समयमा क्लबका कप्तान राउलले ७ नम्बरको जर्सी लाईरहेको हुनाले उनलाई ९ नम्बरको जर्सी दिइएको थियो।[७२]

२००९-१० को संस्करण अन्तर्गत सन् २००९ अगस्ट २९ मा रियल म्याड्रिडको लागि पहिलो खेल खेल्दा रोनाल्डोले पेनाल्टीबाट गोल गरेका थिए भने उक्त खेल म्याड्रिडले ३-२ ले जितेको थियो।[७३] आफ्ना पहिला चार खेलमा गोल गरेर उनी रियल म्याड्रिडको सो किसिमको पहिलो खेलाडी बनेका थिए।[७४] युइएफए च्याम्पियन्स लिगमा म्याड्रिडको लागि उनका पहिला दुई गोल फ्री किक मार्फत ज्युरिच क्लब विरुद्ध बर्सिएका थिए।[७५] सन २००९ को बेलोन डी' ओर र फिफा वर्ष खेलाडीमा उनी उप-विजेता बने भने उनका प्रतिष्पर्धी मेसीले दुबै पुरस्कार जितेका थिए। स्पेनको लिगको आफ्नो पहिलो संस्करण रोनाल्डोले एक ह्याट्रिक (२०१० मे ५ मा मालोर्सा विरुद्ध) सहित ३३ गोल गरेका थिए,[७६][७७] तर क्लबले उपाधि जित्न भने असमर्थ रहेको थियो ।[७८]

राउलले क्लब छाडेपछि सन् २०१०-११ को संस्करण देखि रोनाल्डोले ७ नम्बरको जर्सी लाएर खेल्न थालेका थिए।[७९] २०१० अक्टोबर २३ मा उनले जीवनमै पहिलोपल्ट एक खेलमा चार गोल गर्दै रेसिङ् सान्तान्देर विरुद्ध म्याड्रिडलाई ६-१ को जित दिलाए। [८०] उनले सोही सिजन एथ्लेटिक बिल्बाओ, लेभान्टे, भिल्लार्रियाल र मालागा विरुद्ध ह्यट्रिक गरे।[८१]

२०११ अप्रिलमा भएका चार एल क्लासिको (बार्सिलोना विरुद्ध) खेलमा उनले दुई गोल गर्दै आफ्नो गोल सङ्ख्या ४२ पुर्याए र आफूले एक सिजनमा गरेको जम्मा गोलको बराबरी गरे। युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलबाट म्याड्रिड बाहिरिए पनि कोपा डेल रेको फाइनलमा रोनाल्डोले विजयी गोल गर्दै स्पेनमा पहिलो उपाधि जिते।[८२][८३] त्यसको दुई हप्ता भित्र रोनाल्डोले सेभिल्ला विरुद्ध चार गोल[८४] गेटाफे विरुद्ध ह्यट्रिक,[८५] र भिल्लार्रियाल विरुद्ध फ्री किकमार्फत दुई गोल गर्दै सिजनमा आफ्नो लिग गोलसङ्ख्या ३८ पुर्याए, यो टेल्मो जार्रा र ह्युगो स्यान्चेजको लिग किर्तिमानको बराबरी थियो।[८६] सिजनको अन्तिम खेलमा अल्मेरिया विरुद्ध दुई गोल गर्दै उनी ला लिगाको एक सिजनमा ४० गोल गर्ने पहिलो खेलाडी बने।[८७][८८] स्पेनको पिचीची अवार्ड (सर्वाधिक गोलकर्ता) सँगै उनले युरोपियन गोल्डेन शू जिते र दुई फरक लिगबाट सो उपाधि जित्ने पहिलो खेलाडी बने।[८९] उक्त सिजन रोनाल्डोले सबै प्रतियागिताहरूमा जम्मा ५३ गोल गरे।

सन २०११-१२ को सिजनमा उनले सबै प्रतियागिताहरूमा जम्मा ६० गोल गरे।[९०] रियल म्याड्रिडको लागि १०० औँ गोल उनले सुपरकोपा डे स्पेनको खेलमा बार्सिलोना विरुद्ध क्याम्प नउमा गरे।[९१] सन २०११ मा उनी पुन: फिफा बेलोन डी' ओरमा उप-विजेता बने। पाँच क्लबहरू (रियल जारागोजा, रायो भाल्लेकानो, मालागा, ओसासुना, सेभिल्ला) विरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले म्याड्रिडलाई लिगको आधा खेल सकिदा शीर्ष स्थानमा पुर्याए।[९२] सो संस्करण रियल म्याड्रिडले किर्तिमानी १०० अङ्क सहित लिग जितेको थियो।[९३] रोनाल्डोले ९२ लिग खेलबाट १०० गोल गर्दै सन २०१२ मार्च २४ मा क्लबको लागि नयाँ किर्तिमान राख्दा पुस्कासको पुरानो रेकर्ड तोडियो।[९४] रोनाल्डोले सो सिजनमा ४६ गोल गरे।[९५] साथै, एकै सिजनमा लिगका सबै १९ विपक्षी टिम विरुद्ध गोल गर्ने पहिलो खेलाडी बने।

२०१२-१३ को सिजनको सुरुवातमा म्याड्रिडले सुपरकोपा डे स्पेन जित्यो। साथै बार्सिलोना विरुद्ध सुपर कपमा रोनाल्डोले २ गोल गर्दा म्याड्रिडले उपाधि चुम्यो[९७] उनले च्याम्पियन्स लिगमा पहिलो ह्याट्रिक अज्याक्स विरुद्ध गरे जुन खेल म्याड्रिडले ४-१ ले जित्यो।[९८] चार दिन पछि उनी एल क्लासिकोमा २-२ को बराबरी हुँदा दुबै गोल गरेर लगातार छ एल क्लासिकोमा गोल गर्ने पहिलो खेलाडी बने। सन २०१२ को फिफा बेलोन डी' ओरमा पनि रोनाल्डो दोस्रो भए।[९९]

२०१३–२०१४: लगातार बेलोन डी' ओर र ला डेसिमा

२०१२-१३ सिजन अन्तर्गत सन २०१३ जनवरी ६ मा रोनाल्डोले पहिलो पटक रियल म्याड्रिडको कप्तानी गरे। उक्त खेलमा दुई गोल गरेर १० खेलाडीमा सीमित म्याड्रिडलाई रेआल सोसिदाद विरुद्ध ४-३ को जित दिलाएका थिए।[१००] उनले क्लब जीवनको ५०० औँ खेल बार्सिलोना विरुद्ध खेल्दा एल क्लासिकोमा म्याड्रिडको कप्तानी गर्ने ६० वर्षमा पहिलो गैर-स्पेनी खेलाडी बनेका थिए।[१०१] त्यसको तीन दिन अघि गेटाफे विरुद्ध ह्याट्रिक गरेर उनले आफ्नो क्लब गोल ३०० पुर्याएका थिए। मे ८ मा मालागा विरुद्ध उनले रियल म्याड्रिडको लागि २०० औँ गोल (१९७ खेलमा) गरे।[१०२] रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरे पनि म्याड्रिड कोपा डेल रेको फाइनल र लगातार तेस्रोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित भयो भने लिगको उप-विजेतामा सिमित भयो।[१०३] तर रोनाल्डो भने क्याम्प नउमा लगातार छ खेलमा गोल गर्ने खेलाडी बने, १२ गोलका साथ दोस्रोपटक च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बने, भने उक्त सिजनमा सबै प्रतियोगितामा गरेर जम्मा गोल सङ्ख्या ५५ पुर्याए।

२०१३-१४ को संस्करणको सुरुवातमा क्लबसँगको आफ्नो अनुबन्ध परिमार्जन तथा थप गरेर सन् २०१८ सम्म पुर्याउदा उनी सर्वाधिक कमाउने फुटबल खेलाडी बनेका थिए। सन २०१३ मा रोनाल्डोले ५९ खेलबाट ६९ गोल गरेका थिए।[१०४] सन २०१३ को अन्त्यतिर रोनाल्डोले २२ खेलबाट ३२ गोल गरे जसमा ५ ह्याट्रिक (गालातासारे, सेभिया, रेआल सोसिदाद, उत्तर आयरल्यान्ड, र स्विडेन विरुद्ध) रहेका थिए। सो वर्ष उनी फिफा बेलोन डी' ओर विजेता बन्न सफल भएका थिए।[१०५]

रियल म्याड्रिडले आफ्नो दशौँ युरोपेली उपाधि जित्दा रोनाल्डोको भूमिका उल्लेखनिय रहेको थियो।[१०६] साल्के, डर्टमुण्ड, बायर्न म्युनिख जस्ता क्लबसँग उत्कृष्ट प्रदर्शन गरेका उनले फाइनलमा आत्लेतिको माद्रिद विरुद्ध ४-१ को जितमा पेनाल्टीबाट गोल गरेपछि युरोपेली कपको फाइनलमा दुई विजयी टोलीबाट गोल गर्ने पहिलो खेलाडी बनेका थिए।[१०७] उक्त फाइनलमा रोनाल्डो डाक्टरको सल्लाह विरुद्ध गएर खेलेका थिए, र यस बारेमा उनले भनेका थिए: “जीवनमा त्याग नगरी जित असम्भव छ, त्यसैले जोखिम उठाउनै पर्छ।”[१०८] १७ गोल गरेर तेस्रोपल्ट च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका रोनाल्डो, युइएफए वर्ष खेलाडी पनि बन्न सफल भएका थिए।

कोपा डेल रेको सेमिफाइनलमा आत्लेतिको माद्रिद विरुद्ध २ गोल गरेका उनी फाइनल भने चोटका कारण खेल्न पाएनन, जसमा रियल बार्सिलोना विरुद्ध २-१ ले विजयी भयो। सेमिफाइनलमा एत्लेटिको म्याड्रिडविरुद्धको पहिलो गोल गरेपछि उनी खेलको ९० मिनेटको हरेक मिनेटमा गोल गर्ने पहिलो खेलाडी बने। [१०९]उद्दरण त्रुटी: Character opening tag is malformed upright has a bad name ला लिगामा तेस्रो भए पनि रोनाल्डोले ३१ गोल गरेर पिचीची अवार्ड र युरोपियन गोल्डेन शू (स्वारेजसँग संयुक्त रूपमा) जिते।[११०] जनवरी ६ मा सेल्टा भिगो विरुद्ध २ गोल गर्दा उनले ६५३ खेलबाट क्लब र देशको लागि ४०० औँ गोल गरेका थिए। भालेन्सिया विरुद्ध मे ४ मा पछाडी फर्केर हानेको गोल (ब्याकहिल भली) उनको सो सिजनको ५० औँ गोल थियो जुन गोललाई ला लिगाले वर्षको उत्कृष्ट गोलको दर्जा दियो भने रोनाल्डोलाई ला लिगा वर्ष खेलाडीको पुरस्कार प्रदान गरिएको थियो।[१११] सन २०१४-१५ को सिजनमा रोनाल्डोले ६१ गोल गर्दै नया व्यक्तिगत किर्तिमान राखेका थिए।[११२] डिसेम्बर ६ मा ला लिगाको २३ औँ ह्याट्रिक गर्दा रोनाल्डो ला लिगामा सबैभन्दा छिट्टो ला लिगामा २०० गोल (१७८ खेल) गर्ने खेलाडी बनेका थिए। २०१४ को फिफा क्लब विश्वकप जितेपछि,[११३] रोनाल्डोले लगातार दोस्रो पटक फिफा बेलोन डी' ओर विजेता बन्दै तीन पटक सो अवार्ड जित्ने सिमित खेलाडीमा पर्न सफल भए।[११४]

२०१५-२०१६: रियल म्याड्रिडको सर्वाधिक गोलकर्ता र ला अनडेसिमा

२०१४-१५ सिजनको शितकालिन विश्रामपछि रियल र रोनाल्डो दुबैको स्तर खस्किएको थियो।[११५] सन् २०१५ को पहिलो खेलमा रोनाल्डोले सुरुवाती गोल गरेपनि म्याड्रिड भ्यालेन्सियासँग २-१ ले पराजित भई २२ खेलको विजयी यात्रा टुङ्गिएको थियो।[११६] रियल म्याड्रिडले सो सिजन ला लिगामा दोस्रो स्थानमा चित्त बुझायो भने च्याम्पियन्स लिगमा सेमिफाइनलबाट बाहिरिएको थियो।[११७] च्याम्पियन्स लिगमा टिमलाई सेमिफाइनलमा पुर्याउन रोनाल्डोले उत्कृष्ट खेल खेलेका थिए।[११८] च्याम्पियन्स लिगमा १० गोल गरेका उनी लगातार तेस्रो र समग्रमा चौथो पटक सर्वाधिक गोलकर्ता भएका थिए।[११५]

ला लिगामा रियल म्याड्रिड दोस्रो भयो तर रोनाल्डोको गोलको वर्षा जारी रहेको थियो। अप्रिल ५ मा ग्रानाडा विरुद्ध उनले जीवनमा पहिलो पटक एक खेलमा ५ गोल गरेका थिए।[११९] तीन दिन पछि उनले म्याड्रिड क्लबको लागि ३०० औँ गोल रायो भाल्लेकानो विरुद्ध गरे।[१२०] सेभिल्ला, इस्प्यानोल र ग्रानाडा विरुद्ध ह्याट्रिक गरेर उनले रियलमा आफ्नो ह्याट्रिक ३१ पुर्याए। रियल म्याड्रिड क्लबमा २८ ह्याट्रिकका साथ अल्फेडो डि स्टेफ्यानो सर्वाधिक ह्याट्रिककर्ता थिए।[११५][१२१] उक्त सिजनमा रोनाल्डोले ४८ लिग गोल गरे। पिचीची अवार्डको साथमा उनले युरोपियन गोल्डेन शू किर्तिमानी चौथोपल्ट जिते।[११५]

रियल म्याड्रिडमा रोनाल्डोको सातौँ संस्करण (सन् २०१५-१६) को सुरुवातमा उनी लिगमा र सबै प्रतियोगितामा क्लबको तर्फबाट सर्वाधिक गोलकर्ता बने। २०१५ सेप्टेम्बर १२ मा इस्प्यानोल विरुद्ध ५ गोल गरेर उनले ला लिगामा आफ्नो गोल सङ्ख्या २३० (२०३ खेलबाट) पुर्याए र राउललाई उछिन्न सफल भएका थिए।[१२२] अक्टोवर १७ मा लेभान्टे विरुद्ध १ गोल गरेर सबै प्रतियोगिताहरूमा आफ्नो गोल सङ्ख्या ३२४ पुर्याए र यस किर्तिमानमा पनि राउललाई उछिने। [१२३] युइएफए च्याम्पियन्स लिगमा साख्तर डोनेस्क विरुद्ध ह्याट्रिक गर्दै उनी सो प्रतियोगिताको इतिहासमा सर्वाधिक गोलकर्ता पनि बने।[१२४] सेप्टेम्रब ३० मा माल्मो क्लबसँगको खेलमा २ गोल गर्दा उनले क्लब र देशको लागि ५०० गोल गरेर एउटा कोशेढुङ्गो पार गरेका थिए।[१२५] माल्मो क्लबसँगको अर्को खेलमा ४ गोलसहित युइएफए च्याम्पियन्स लिगको समूह चरणमा ११ गोल गरेर उनी समूह चरणमा दोहोरो अंकको गोल गर्ने पहिलो खेलाडी बन्न सफल भए।[१२६] सन २०१५ को फिफा बेलोन डी' ओरमा रोनाल्डो दोस्रो भए।[१२७]

सन २०१६ मार्च ५ मा साल्ता भिगो विरुद्ध चार गोल गरेर उनले ला लिगामा आफ्नो गोल सङ्ख्या २५२ पुर्याए, यसरी प्रतियोगिताको इतिहासमा जार्रालाई उछिन्दै उनी दोस्रो सर्वाधिक गोलकर्ता बन्न सफल भए।[१२८] अप्रिल २ मा १० खेलाडीमा सिमित रियललाई एल क्लासिकोमा २-१ को जित दिलाउन निर्णायक गोल गरेका रोनाल्डोले,[१२९] वुल्फ्सबर्ग क्लबसँगको खेलमा ह्याट्रिक गर्दै पहिलो खेलमा २-० को हार उल्टाएर समग्रमा ३-२ को जित सहित रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याए।[१३०] च्याम्पियन्स लिग उक्त संस्करण १६ गोल गर्दै उनी लगातार चौथो र समग्रमा पाँचौपल्ट सर्वाधिक गोलकर्ता बनेका थिए।[१३१] २०१६ को च्याम्पियन्स लिग फाइनल पुन: एत्लेटिको म्याड्रिडविरुद्ध भयो। १२० मिनेटसम्मको खेल १-१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा उनले निर्णायक गोल गरे। यो रियल म्याड्रिडको ११ औँ युरोपियन कप (ला अनडेसिमा) र रोनाल्डोको तेस्रो च्याम्पियन्स लिग उपाधि थियो।[१३२] यो सँगै रोनाल्डोले लगातार छैठौँ सिजन ५० गोलभन्दा धेरै गरे। उनलाई सो संस्करणको युइएफए वर्ष खेलाडीको पुरस्कार दिइएको थियो।[१३२]

२०१६ नोवेम्बर ६ मा उनले क्लबसँगको अनुबन्ध सन २०२१ सम्म बढाउन सहमति जनाएका थिए।[१३३] नोवेम्बर १९ मा एत्लेटिको म्याड्रिडसँगको खेलमा ह्यट्रिक गर्दा उनी म्याड्रिड डर्बीमा सर्वाधिक (१८) गोल गर्ने खेलाडी बने।[१३४][१३५] २०१६ डिसेम्बर १५ मा क्लब वर्ल्डकपको सेमिफाइनल खेलमा क्लब अमेरिका विरुद्धको गोल उनको ५०० औँ क्लब गोल (३७७ रियल, ११८ युनाइटेड, ५ स्पोर्टिङ) थियो।[१३६] क्लब वर्ल्डकपको फाइनलमा उनले जापानको कासिमा एन्ट्लर्स क्लबसँगको खेलमा ह्याट्रिक गरे।[१३७] प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका उनी सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए।[१३८] सन २०१६ को बेलोन डी' ओर विजेता बनेका रोनाल्डोले फिफा वर्ष खेलाडी २०१६ को उपाधि पनि पाए, जसमा उनले आफ्नो देश पोर्चुगलबाट जितेको युरोकप २०१६ ले पनि मुख्य भूमिका खेल्यो।[१३९]

२०१७–हालसम्म: ४०० रियल म्याड्रिड गोल र ला डुओडेसिमा

२०१७ जनवरी २७ मा भिल्लार्रियाललाई पराजित गर्ने क्रममा रोनाल्डोले पेनाल्टीबाट ला लिगामा ५७ औँ गोल गरे र ह्युगो स्यान्चेजको किर्तिमान भङ्ग गर्दै नयाँ किर्तिमान बनाए। [१४०][१४१] उक्त गोल ला लिगामा रियल म्याड्रिडको ५९०० औँ गोल थियो र यो कोशेढुङ्गो पार गर्ने रियल म्याड्रिड ला लिगाको पहिलो क्लब बनेको थियो।[१४२] रोनाल्डोले २०१६ अप्रिल १२ मा च्याम्पियन्स लिगको क्वाटर-फाइनलमा बायर्न म्युनिख विरुद्ध पहिलो खेल (बायर्नको मैदान) मा २ गोल र दोस्रो खेल (रियलको मैदान) मा ३ गोल गरेका थिए। यी गोलहरु सँगै उनी च्याम्पियन्स लिगमा १०० गोल गर्ने पहिले खेलाडी बनेका थिए।[१४३] २०१७ मे २ मा च्याम्पियन्स लिगकै सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा एत्लेटिको म्याड्रिड अर्को ह्याट्रिक गर्दै उनी सो प्रतियोगिताको समुह चरण पछीका खेलमा ५० गोल गर्नै पहिलो खेलाडी भएका थिए।[१४४] सोही मे १७ मा सेल्टा भिगो विरुद्धको लिग खेलमा २ गोल गर्दा उनले युरोपमा पाँच प्रमुख लिगमा सबै भन्दा धेरै गोल गर्ने किर्तिमान आफ्नो नाममा पार्न सफल भएका थिए।[१४५] सो संस्करण रियल म्याड्रिडले ला लिगाको उपाधि जितेको थियो[१४६] भने च्याम्पियन्स लिग जित्दै लगातार दुई संस्करण नयाँ स्वरूपको च्याम्पियन्स लिग जित्ने पहिलो टोली बन्न सफल भएको थियो।[१४७] सो फाइनलमा युभेन्टस विरुद्ध २ गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगको ३ फाइनलमा गोल गर्ने पहिलो खेलाडी बने भने उनले आफ्नो खेल जिवनमा ६०० गोल पनि पुरा गरेका थिए।[१४८] साथै, लगातार ५ औँ र समग्रमा ६ औँ पटक च्याम्पियन्स लिग सिजनको सर्बाधिक गोलकर्ता भए। यो रियल म्याड्रिडको चार वर्षमा तेस्रो च्याम्पियन्स लिग र समग्रमा बाह्रौ युरोपियन उपाधि (स्पेनिसमा ला डुओडेसिमा) थियो।[१४९]

अन्तर्राष्ट्रिय खेल जीवन

२००१–२००६: सुरुवात

पोर्चुगलको राष्ट्रिय फुटबल टिमको युवा समुहबाट रोनाल्डोले सन २००१ मा आफ्नो खेल जीवन सुरुवात गरे। उनले १५ वर्ष मुनिको उमेर समुह, १७ वर्ष मुनिको उमेर समुह, २० वर्ष मुनिको उमेर समुह, २१ वर्ष मुनिको उमेर समुह, र २३ वर्ष मुनिको उमेर समुहमा जम्मा ३४ खेल खेलेर १८ गोल गरे।[१५०] सन २००३ अगस्त २० मा १८ वर्षको उमेरमा उनले आफ्नो राष्ट्रिय टोलीको लागि पहिलो खेल काजख्स्तान विरुद्ध खेले। उक्त खेल पोर्चुगलले १-० ले जित्यो।[१५१]

उनले पोर्चुगलमै भएको युइएफए युरोकप २००४ को समुह चरणको खेलमा ग्रीस विरुद्ध राष्ट्रिय टोलीको लागि पहिलो गोल गरे तर पोर्चुगल २-१ ले पराजित भयो।[१५२] बेलायतसँगको क्वाटर फाइनलमा पेनाल्टी सुटआउटमा र नेदरल्याण्डसँगको सेमिफाइनलमा सुरुवाती गोल गरेर उनले टिमलाइ फाइनलमा पुर्याउन मद्दत गरे।[१५३] तर फाइनल खेल पोर्चुगलले ०-१ ले युनानसँग हार्‍यो।[१५४] प्रतियोगितामा २ गोल र २ गोल सहायता प्रदान गरेका उनी टिम अफ द टुर्नामेन्टमा छानिए। सन २००६ को विश्वकप छनौटको युरोपियन खेलमा सात गोल सहित उनी दोस्रो सर्वाधिक गोलकर्ता भए।[१५५] २००६ को विश्वकपमा उनले आफ्नो पहिलो विश्वकप गोल इरानसँगको समुह चरणको खेलमा पेनाल्टीमार्फत गरे। बेलायतसँगको क्वाटर फाइनलमा पोर्चुगलका रक्षकलाई कुल्चेपछि वायन रुनीलाई रातो कार्ड दिइयो, तर रोनाल्डो माथि रेफ्रीलाई उक्साएको आरोप लाग्यो।[१५६] सेमिफाइनलमा रोनाल्डोको टोली फ्रान्ससँग १-० ले पराजित भयो।[१५७]

२००६–२०१२: कप्तानी

आफ्नो २२ औँ जन्मदिनको भोलिपल्ट सन २००७ फेब्रुअरी ६ मा ब्राजिलसँगको मैत्रीपुर्ण खेलमा रोनाल्डोले पहिलोपल्ट पोर्चुगलको कप्तानी गरे।[१५८] युइएफए युरोकप २००८ को पुर्वसंध्यामा रोनाल्डोलाइ राष्ट्रिय टोलीमा पहिलोपटक ७ नम्बरको जर्सी दिइयो।[१५९] छनौट चरणमा ८ गोल गरेका उनले प्रतियोगितामा भने १ गोल मात्र गर्नसके।[१६०]

२००८ जुलाईमा उनी पोर्चुगलका स्थायी कप्तान बनेका थिए। २०१० को विश्वकप छनौट खेलमा रोनाल्डोले गोल गर्न सकेनन। विश्वकपको समुह चरणको सबै खेलमा उनी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए।[१६१] उक्त प्रतियोगितामा उनले एक गोल मात्र गरेका थिए।[१६२]

युइएफए युरोकप २०१२ को छनौट चरणमा ७ गोल गर्दै रोनाल्डोले टिमलाई प्रतियोगितामा सामेल गराए।[१६३] उनको प्रेरणामा पोर्चुगलले सेमिफाइनलसम्मको यात्रा तय गर्यो।[१६४][१६५][१६६] तीन गोल सहित संयुक्त रूपमा प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका उनी टिम अफ द टुर्नामेन्टमा परे।[१६७]

२०१२–२०१६: सर्वाधिक गोलकर्ता र युरोकप विजेता

सन २०१४ को विश्वकप छनौटको खेलहरूमा उनले आठ गोल गरे। २०१२ अक्टोवर १७ को नर्दन आयरल्यान्डसँगको खेल उनको १०० औँ अन्तर्राष्ट्रिय खेल थियो।[१६८] २०१३ सेप्टेम्वर ६ मा नर्दन आयरल्यान्डविरुद्ध नै उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गरे।[१६९] पोर्चुगल सोझै छनौट हुन नसके पछि स्विडेनसँगको प्ले-अफमा उनले टिमको तर्फबाट सबै चार गोल (पहिलो खेल १ गोल, दोस्रो खेल ३ गोल) गरेर विश्वकपमा स्थान सुरक्षित गराए।[१७०] रोनाल्डोले २०१४ मार्च ५ को क्यामरूनसँगको खेलमा विजयी हुने क्रममा दुई गोल गरेर पोर्चुगल राष्ट्रिय टोलीको सर्वाधिक गोलकर्ता बने।[१७१]

सन २०१४ को विश्वकपमा पोर्चुगलको सम्पुर्ण आशा रोनाल्डोमाथि केन्द्रित थियो। फलस्वरुप, तिघ्रामा समस्या भएपनि उनले आफ्नो खेल जीवन नै धरापमा राखेर प्रतियोगितामा भाग लिए।[१७२][१७३] प्रतियोगितामा एक गोल गरेर उनले आफ्नो अन्तर्राष्ट्रिय गोल ५० पुर्याए भने पोर्चुगलबाट विश्वकपको तीन संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने।[१७४] गोलअन्तरका आधारमा पोर्चुगल समुह चरणबाटै बाहिरियो।

युइएफए युरोकप २०१६ को छनौट चरणमा रोनाल्डोले ६ गोल गरे।[१७५][१७६][१७७][१७८] यसरी, २३ गोलका साथ उनी २०१४ नोवेम्बर १४ मा युइएफए युरोको सर्वाधिक गोलकर्ता (छनौट चरणसमेत गरेर) बन्न सफल भए।[१७९] युरो २०१६ का सुरुवाती दुई खेलमा आइसल्यान्ड र अस्ट्रियासँग पोर्चुगल बराबरीमा रोकिदा रोनाल्डोले गोलपोष्टमा गरेका २० प्रहारहरूबाट एक गोल पनि हुन सकेन। अस्ट्रियासँगको खेल रोनाल्डोको १२८ औँ अन्तर्राष्ट्रिय खेल थियो र उनी लुइस फिगोलाई पछि पार्दै पोर्चुगलका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बने।[१८०] समुहचरणको अन्तिम खेलमा दुई गोल र एक सहयोग सँगै उनी पोर्चुगललाई अघिल्लो चरणमा पुर्याउन सफल भए। यो सँगै उनी युरोको चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने सो प्रतियोगितामा किर्तिमानी १७ खेल पनि खेले। [१८१]